काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
शुक्रबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
लुले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना समेत प्रकट गरेका छन् । उनले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै दाहालको तस्वीरमा माल्यार्पण पनि गरे ।

उनीहरूबीच एमसीसीका विषयमा छलफल भएको थियो । मन्त्री लुले एमसीसी कार्यान्वयनको प्रगतिबारे प्रधानमन्त्री दाहालसँग चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले एमसीसी छिट्टै पूर्ण कार्यान्वयनमा जाने बताएका थिए ।
एक दिने भ्रमणका लागि काठमाडौं आएका लुले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरेका थिए ।




















