काठमाडौँ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।
बैठकमा के सहमति भयो भन्नेबारे नेताहरुले बताइसकेका छैनन्। तर प्रचण्डको सचिवालयले सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलबारे प्रश्न गर्दा भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’
प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।




















