काठमाडौँ । बुधबारदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा वैठक आइतबार बस्दै नवसी स्थगित भएको थियो । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सचिवालयले बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर आज पनि वैठक चल्न सक्ने अवस्था अहिलेसम्म देखिएको छैन ।
सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैगरी आज प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् भने उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।
यसैगरी आजकै बैठकमा मन्त्री गुरुङले नै ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नेछन् भने यसपश्चात् उक्त विधेयक पारितको प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
आइतवार प्रमुख तीन दलबीच भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याएर संसद्मा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक चल्न दिनेमा सहमत भएका थिए।
प्रधानमन्त्रीले आत्मआलोचनासहित आफ्नो भनाइ सच्याउने सहमति पछि वैठक सुचारु हुने सहमति भएको थियो । तर त्यसको केही बेरपछि नै एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिसमेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेपछि प्रधानमन्त्रीले सभामुखलाई फोन गरेर आइतवारको बैठक आजसम्मका लागि स्थगन गर्न आग्रह गरेका थिए ।
दलहरुबीच पुनः छलफल भएको छैन । जसले गर्दा पनि एमालेले प्रतिनिधि सभाको बैठक चल्न दिने सम्भावना देखिएको छैन ।
गत सोमबार प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको बताएका थिए । उनको यो अभिव्यक्तिले नेपालको स्वाभिमान र सदनको गरिमामा आँच आएको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेले दाहालले प्रधानमन्त्री भइरहने नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।




















