काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि पक्राउ परेका छन् ।
आइतबार राउतलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छिन् ।
राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ। उनलाई पक्राउ गरिएको बारेमा प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको सीआईबीले जनाएको छ ।
सीआईबीले आइतबारै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको थियो ।
ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगो, वहालवाला सचिव राउतलगायत ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन् ।
२०४९ सालदेखि २०६९ सालसम्मा ललितानिवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । सीआईबीले यो प्रकरणमा सरकारी लिखत किर्ते र संगठित अपराधको कसूर अन्तरगत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।



















