काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनको अवरोध अन्त्य गर्न सहमत भएको छ । गत बुधबारदेखि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा सदनमा चित्तबुझ्दो भाषामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको हो ।
बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’
सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् ।आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरेको एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति देउवाले छलफल गरेका हुन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ ।




















