काठमाडौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । तर उनी असम्वैधानिक र विवादका बीच मुख्यमन्त्री बनेका हुन । उनलाई जसरी मुख्यमन्त्रीमा नियुक्त गरियो, त्यसप्रति संविधानविद्देखि राजनीतिज्ञहरुले पचाउन सकेका छैनन् ।
थापालाई मुख्यमन्त्री बनाउनका लागि सभामुखको हस्ताक्षर समेत बुझाएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालादेखि नेसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत चिन्ता व्यक्त गरेका छन् ।
कोइरालेले सभामुखले मुख्यमन्त्री नियुक्तीको लागि एउटा पार्टीको तर्फबाट हस्तक्षर गर्नु गलत भएको बताएका छन् भने डा. बाबुराम भट्टराईले सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पुर्याउनु संविधानको उल्लंघन भएको बताएका छन् ।
डा.भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् – “हिजो के पी ओलीले संविधान विपरित काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ, अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं ! आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेश (कोशी प्रदेश) को हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही ।?”
प्रदेश सांसदहरूले नै सभामुखको हस्ताक्षरप्रति आलोचना गर्दै फेसबुकमा लेख्न थालेका छन् । माओवादीका प्रदेश कमिटी सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ ले हुँदा छँदाको सभामुखलाई डुबाएर नर्क यात्राको सुरू गरेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुँदा छँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरू गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले !’





















