काठमाडौँ । गण्डकी र लुम्विनी प्रदेशका आठ जिल्लामा अति भारी वर्षा भइरहेको छ । तिनाउ नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न सचेत गराएको छ।
महाशाखाले आज बिहान सूचना जारी गरी ती जिल्लाहरुमा खहरे खोलामा आकस्मिक बाढीका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा आज बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ । अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ ।
मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज राम्रो घाम लाग्ने सम्भावना नरहेको मौसमविद नगरकोटीको भनाइ छ ।