काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढंगको क्रान्तिको संज्ञा दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा वाईसीएलका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग सम्झौता नगर्ने बताए । विगतका सबैजसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने उनको भनाइ छ।
नक्कली शरणार्थी प्रकरणमा जस्तै बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे ।
नयाँ तरिकाको क्रान्तिबाटै पार्टी पनि नयाँ आधारमा विस्तार हुने उनको भनाइ छ । सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री दाहालले वाईसीएललाई आग्रह गरेका थिए ।



















