विराटनगर । जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ ।
जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन्। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।
‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं’ उनले भने, ‘पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो ।’
पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने कुरै भएन । सँगै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन’, जसपाले भनेको छ ।
मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ। जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।




















