गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनि पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् ।
सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सक्छन् । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्नु उनको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गा रानालाई दिएर उनी कार्यालयतिर जान्छन् । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन् ।
सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ ।
‘एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्’, सिंजालीले भने, ‘बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताए ।
‘व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।’ गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ ।
सिंजालीकी पत्नी गङ्गा रानाले श्रीमानको जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन् ।
गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताए । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ । – रासस