काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका हुन ।
उनले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था रहेको छ भन्ने बारेमा जानकारी गराउनुपर्ने बताएक छन् ।
गएराती अख्तियार लगाएतको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरिएपनि विवरण सार्वजनिक भने भएको छैन । अख्तियारले सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन अझै २ दिन लाग्ने अख्तियार स्रोतले जनाएको छ ।
जलहरीमा करिब एक सय ७ केजी अर्थात १०६ दशमलब ४३२५ किलो ग्राम सुन मापन भएको छ भने जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम भएको अख्तियारका एक अनुसन्धान अधिकृतले बताएका छन् ।
जलहरीमा राखिएको सुन अपुग भएको दाबी गर्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । पहिलो चरणमा कोषका पदाधिकारीसँग बयान लिएको अख्तियारले सोमवार पशुपति परिसरमै नेपाली सेनाको रोहबरमा सुनको नापतौल लिएको हो ।