काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै सांसद पन्तले हुँदै नभएका दरबन्दी खडा गरेर अनावश्यक बजेट छुट्याउनु लोकतन्त्रको हितमा नहुने बताए ।
खास खास अवस्थामा संवैधानिक दायित्व पूरा गर्न राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारहरूलाई बजेट दिनु जनताले तिरेको करको दुरूपयोग भएको बताए। उनले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको भन्दै आपत्ती जनाए । सांसद पन्तले उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष एउटै व्यक्ति बनाउनुपर्ने बताए ।

























