काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको बताए । उनले नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । उनले सरकार छोड्नैपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने बताए ।
महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि काँग्रेसलाई फरक नपर्ने बताए ।



















