काठमाडौं । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमनत्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिए पनि हात लागी शुन्य भएको बताए ।
उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए । उनले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए ।
उनले आफ्नै पार्टीका नेताहरुमाथि पनि विभिन्न प्रश्नहरु गरे । उनले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनि प्रश्न गरे । उनले काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए ।
उनले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरु बोल्ने कि नबोल्ने भन्ने प्रश्न गरे ।



















