विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि सकारात्मक बन्न सुझाव दिएका छन् ।
देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नुपर्ने उनको आशय छ । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै थापाले कांग्रेस पार्टीले नयाँ नेतृत्व खोजिरहेको उल्लेख गरे । अर्कोतर्फ कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री होउन् भन्ने चाहना जनताको रहेको उनले बताए।
पार्टी र जनताको चाहना अनुसार नेतृत्व परिवर्तनका लागि सकारात्मक हुन देउवालाई थापाको आग्रह छ । नेतृत्व हस्तान्तरण गर्न देउवा तयार हुनुपर्ने चाहना आफूले पनि राखेको थापा बताउँछन् ।
नेतृत्व परिवर्तन भयो भने आजका दिनमा आएका चुनौती पार लगाउन सकिने र नेतृत्व परिवर्तन नभएमा चुनौतीले झन् थिच्ने उनको भनाइ छ।
उनले पार्टीभित्र आफ्नो र डाक्टर शेखर कोइरालाको सम्बन्ध झन् प्रगाढ बनेर गएको पनि बताए ।



















