काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।
जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वजेटमाथि जेठ २१ गतेदेखि शुरु भएको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।
अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । तर वजेटमाथि सांसदहरुले सयौं प्रश्न उठाएका छन् । प्रतिपक्षी दलका सांसदहरुले यो बजेटले देशको विकास र जनताको आवश्यता पूरा गर्न नसक्ने भन्दै पुनर्लेखन नै गर्नुपर्ने बताएका छन् भने सत्तापक्षका सांसदहरुले समेत यो वजेट नसच्याए पास हुन नसक्ने चेतावनी दिएका छन् ।
सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने चेतवानी नै दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यो बजेटप्रति साथीहरु सबै असन्तुष्ट रहेको बताउँदै यथास्थितिमा बजेट पास गर्न खोजिए सरकार दुर्घटनातिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वजेटप्रति सांसदहरुको असन्तुष्टिमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्ने वताउँदै उनले बेठीक भएको कुरालाई करेक्सन गर्नेपर्ने बताएका छन् ।
नेता नेपालले यो गठवन्धनलाई पाँच वर्ष नै टिकाउन र सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकारले लचकता देखाउनुपर्ने बताएका छन् ।
























