काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् ।
उनले प्रधानमन्त्री दाहालको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे । उनले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गरे ।
उनले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद रेकर्डबाट हटाउन माग गरे ।
सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ ।



















