काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेतामाथि आक्रमण हुँदा सरकार मूकदर्शक भएर बसेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले आफ्ना नेतामाथि सांघातिक आक्रमण हुँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए।
उनले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरूको प्रदर्शनमा आफ्ना नेताहरूमाथि आक्रमणको प्रयास भएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् ।
उनले बिहीबार इलाममा र उदयपुरमा आफ्ना नेतामाथि आक्रमणको प्रयास भएको बताए ।
उनले आफ्ना नेतालाई निशाना बनाउँदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए । राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफै आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उनको भनाइ छ ।
उनले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।



















