विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि टोली गठन गरेको छ ।
मंंगलबार माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेलगतै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका छन् ।
गत फागुन १७ गते बसेको प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेपछि त्यसको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा चैत १० गते पदम लिम्बुको मृत्यु भएको थियो ।
गत जेठ १४ गते बसेको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले पहिचान पक्षधरसँग तत्काल वार्ता गर्न दबाब दिएका थिए । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले वार्तामा आउन आग्रह गरेका थिए ।
पहिचानको आन्दोलनलाई सम्बोधन नगरेको भन्दै जेठ १७ गते जसपाले सरकार छाडेको थियो भने मंगलबार माओवादी केन्द्रले पनि सरकार छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् । कार्कीले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाएर पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन् । पहिचान पक्षधरहरुले जेठ १४ गतेबाट प्रदेशसभा भवन केन्द्रित आन्दोलन घोषणा गरेका थिए ।