काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताएका छन् ।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट- अ-होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले यस्तो बताए ।
उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने बताए । उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे । उनले इमान्दार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताए । उनले कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको भन्दै इमान्दारको काम नभएको बताए । उनले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको बताए ।
उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए । राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने बताए ।
उनले एकाध मानिसहरुको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताए । उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजश्व सचिव,आन्तरिक राजश्व विभाग प्रमुख,भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताए ।
निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता गराएको भन्दै विभिन्न संचारमाध्यममा समाचार आएका थिए । भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको आरोप छ । केही व्यापारिक घरानासँग निकट रहेका पूर्वनासु रामकृष्ण श्रेष्ठ ‘विज्ञ’का रुपमा करका दर मिलाउने कार्यमा सहभागी भएको आरोप छ ।

























