काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आरोप लगाएका छन् ।
सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको समाचार बाहिर आएको भन्दै तत्काल छानविन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानविन समिति गठन गर्न माग गरे ।
प्रमुख सचेतक शाहीले ११ सय भन्दा बढि विद्युतीय गाडी भन्सारबाट भित्रिएकै दिन अर्थमन्त्रीले अनधिकृत व्यक्तिहरुलाई बोलाएर करको दर हेरफेर गराएको समाचार आएकाले सो घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।
प्रमुख सचेतक शाहीले राज्यविरुद्धको अपराध हुने गरी करको दर हेरफेर गर्ने काममा केही अनधिकृत व्यक्तिहरुलाई संलग्न गराउने कुरा सैह्य हुनै नसक्ने चेतावनी समेत दिए ।
























