काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको दाबी गरे ।
‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’ उनले प्रधानमन्त्रीले भारत भ्रमणमा नयाँ केही कुरा नभएको टिप्पणी गरेका हुन् ।
पञ्चेश्वर, पेट्रोलियम पाइप लाइन, इन्टिग्राटी चेकपोष्ट आफ्नै पालामा अघि बढेको दाबी गर्दै उनले पुरानै कुरा उद्घाटन गरेको बताए । प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।
साथै उनले भ्रमणमा भएका छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनु पर्नेमा छोरी उपस्थित गराएको आपत्ति जनाए। उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको आरोप लगाउँदै उनले ‘कम्फोटेबल’ खोजेको आरोप लगाए ।



















