काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शैयाको १० प्रतिशत छुट्याइ विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी,सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीका लागि शैय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् ।
यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ ।
मन्त्रालयले कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको नियमित अनुगमन हुने जनाएको छ । शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शैय्या निःशुल्क उपचार गर्न निर्देशन दिएका थिए ।

















