काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दल रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ । आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाए ।
प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा सदनमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङदेन र एमालेका प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।



















