काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ ।
चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो । सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि प्रचण्ड नयाँ दिल्लीको बारखम्बास्थित नेपाली दूतवासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि (बिहीबार) समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हैदरवाद हाउसमा हुने भेटमा उनीहरूबीच ‘वान टु वान’ छलफल हुने छ। त्यसलगत्तै दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रोपति मूर्मु, उपराष्ट्रपतिलगायतसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । मध्यप्रदेशको इन्दोर पुगेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।