काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका उपशंका नगर्न आग्रह गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यसपाली भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
उनले भने, ‘यसपाली बजेट भिन्न किसिमले आएको छ । बजेट त आएको हो तर कार्यान्वयन हुन्छ र रु भन्ने प्रश्न विगतमा उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिन्छ।’
साथै अर्थमन्त्री महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारे ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री महतले एक निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिने बताएका थिए । व्यापक विवादित सांसद विकास कोष ब्युँताइएको भन्दै यसको विरोध भइरहेको छ । सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ ।




















