काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक चूनौतिलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट केन्द्रीत रहेको बताएका छन् ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्नका लागि बजेट केन्द्रीत रहेको बताएका छन् । उनले मुलुकको आर्थिक अवस्थालाई सहज अवस्थामा ल्याउनका लागि सवैको सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।
मन्त्री महतले आगामी बजेटको कार्यान्वयनमा बिशेष जोड दिने र यसका लागि नियमित अनुगमन गर्ने जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने, चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिएका छन् ।
त्यस्तै उनले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको बताएका छन् । मन्त्री महतले तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने जानकारी दिएका छन् ।