काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।
आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ ।
अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाई थियो । कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए । उनले बजेट जतिसुकै राम्रो भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए ।
अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए ।

























