काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन् ।
गरिव मानिसहरु नै यसको बढी मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरुभन्दा कम नभएको पनि बताए । उनले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने दावी समेत गरे ।
सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराए ।
सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गरे ।
सांसद भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरे ।
भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।
























