काठमाडौँ । मंगलबार शेयर बजार नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ । यो २०८० सालकै उच्च विन्दु हो । यस अघि २०७९, चैत २९ गते नेप्से परिसूचक १९६३.५५ विन्दुमा रहेको थियो । सोपश्चात पहिलो पटक नेप्से यस उचाईमा पुगेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ८.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक बढेको छ ।
नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । यस दिन २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो । यस अघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन १४ स्टकको मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल टेलिकमको करिब ९ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीव्न बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।




















