काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०।५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ६० करोडको शेयर कारोबार भएको बजारमा २७२ स्टकको २५ हजार ७४६ पटकको कारोबारमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमबार आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो लघुवित्तको शेयरमूल्य ११२ रुपैयाँ ९० पैसा बढेर १ हजार २४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।




















