काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ९ गतेदेखि नै माग पूरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरूमा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो व्यानर राख्ने, सबै सहकारी संघ/संस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने लगायतका आन्दोलन गर्ने जानकारी दिएको हो ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दा पनि आफ्ना कुराहरूको सुनुवाइ नभएको भन्दै आफूहरूले पहिलोपटक शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेको स्पष्ट पारे ।
नेपालमा ३० हजारभन्दा बढी सहकारी संघ/संस्थामार्फत ७ खर्बभन्दा बढी पुँजी परिचालन भएको सहकारी क्षेत्रले वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान पुर्याएको सहकारी महासंघको दाबी छ।
सहकारी समस्या समाधान सहजीकरण कार्यदलमार्फत सरकार तथा सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराएको र ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको उनले बताइन् ।
























