काठमाडौं । नेपाल एमालेका सांसद योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नु नै उपयुक्त हुने बताएका छन् । सरकारले संघीय संसदको संयुक्त वैठकमा पेश गरेको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रमबारेमा प्रतिनिधिसभामा भएको छलफलमा सहभागि हुँदै सांसद भट्टराईले ‘जनयुद्ध’ भन्ने संविधानले नचिनेको शव्द नीति कार्यक्रममार्फत राष्ट्रपतिबाट बोल्न लगाउनु आपत्तिजनक भएको बताएका छन् ।
नीति तथा कार्यक्रमको १ नं. वुँदामै जनयुद्ध भन्न शव्द राखिएको र त्यसमा कांग्रेसको समर्थन हुनु आश्चर्यजनक भएको भट्टराईले बताएका छन् । सत्ता गठवन्धनको सवैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले त्यसलाई कसरी स्वीकार्यो, यसको जवाफको अपेक्षा सभापति शेरबहादुर देउवासँग गरेका छन् ।
भट्टराईले भनेको नीति तथा कार्यक्रमको वुँदा नं. १ यस्तो छ “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु । यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, मुलुकमा राजनैतिक परिवर्तनका लागि विभिन्न समयमा नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेताहरूसहित सम्पूर्ण नेपाली जनतामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”
यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहास अन्त्य हुने दाबी गर्दै एमाले सचिव भट्टराईले भने, ‘यसमा माननीय शेरबहादुर देउवाजीबाटै जवाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठूलो नेता हुनुहुन्छ, उहाँको नीति विना यो नीति कार्यक्रम कसरी बन्यो होला ?’
त्यस्तै सांसद भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै विकास निर्माणका काम गरेको दावी गर्दै दीर्घकालिन महत्वका काम भएको दावी गरेका छन् । उनले मध्यपहाडी पुष्पलाल राजमार्ग पहाडबाट वसाइ सर्नबाट रोक्न र तराईको उर्वरभूति घडेरीमा रुपान्तर हुनबाट जोगाउन त्यसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
एमालेका सचिव समेत रहेका भट्टराईले एमाले सरकारको पालामा सामाजिक सुरक्षा योजना, विकास जनताको सहभागितामा हुन्छ भनेर ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने नीति अघि सार्यो, सो नीति अनुसार धेरै पूर्वाधारहरु बनेका छन्, राज्य भनेको ठूलावडा र धनीमानीको मात्र होइन, राज्य भनेको असशक्त, असाहायको पनि हो, उनीहरुलाई सहयोग गर्नुपर्छ भनेर ‘सामाजिक सुरक्षा कार्यक्रम’ ल्याएको हो, ज्येष्ठ नागरिक भत्ताको थालनी गरिएको बताएका छन् ।
गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल देशका लागि आर्थिक वोझ भएको र अहिले नै भत्काइहालौ जस्तो केही सांसदले गरेको बताउँदै भट्टराईले ती विमानस्थल बनाउनु आवश्यक भएको र त्यो ठिक छ भन्दै त्यसलाई व्यवसायिक ढंगले प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु वर्तमान सरकारको असफलता भएको बताएका छन् । भारतसँग हवाई सम्झौता अनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कूटनीतिक ल्यागत राख्न नसक्नु गौतमवुद्ध, पोखरा विमानस्थलको दोष नभएको सांसद भट्टराईले बताएका छन् ।
भट्टराईले पछौटे दिमाग र कुण्ठाले देश नबन्ने भन्दै सपना र अग्रगामी दिमाग चाहिने बताएका छन् । उमेर पाको हुँदैमा कुण्ठाले देश नबन्ने बताएका छन् । नीति कार्यक्रममा स्पष्ट दिशानिर्देश नभएकाले आजको संकटको समाधान यसले नगर्ने बताएका छन् ।