काठमाडौं । सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिनुभएको हो ।
देशभर बिमाको पहुँच विस्तार गरिने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताउनु भयो ।
राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिनुभयो ।
सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।
























