काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पु¥याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा उनले सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको समेत बताएकी छिन् ।
उनले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताएकी छिन् । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।
उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए । डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ थियो ।
त्यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पु¥याएको भन्दै दीर्घकालीन पूर्वाधार निर्माणमा अघि बढेको बताएका छन् ।
सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिए।
सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ–जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिनेछन्।