काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क आफूखुसी नबढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर आफू खुसी बढापछि प्राधिकरणले महशुल बढाउने गरी कुनै निर्णय नभएको स्पष्ट पार्दै आफूखुशी महसुल नबढाउन निर्देशन दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुशी इन्टरनेट सेवाको शुल्क/महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन,२०६३ विपरित हुने प्राधिकरणले जनाएको छ ।
शुल्क/महशुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृत सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महशुल बढाउन पाउने व्यवस्था छ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ – “प्राधिकरणबाट कुनै पनि इन्टर्नेट सेवाप्रदायकले स्वीकृत शुल्क/महशुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टर्नेट सेवाको विद्यमान् स्वीकृत शुल्क/महशुलदरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्क/महशुलदर बढाउन इन्टर्नेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पस्ट हुन सम्बन्धितलाई जानकारी गराइन्छ। साथै कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदरभन्दा बढी शुल्क/महशुलदर लिने गरी बिल/बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराइ दिनु हुन समेत अनुरोध गरिन्छ ।”