काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए । उनले प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पतीको प्रतिफललगायतमा छलफल चलाउन जरुरी रहेको बताए । उनले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए ।
उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रुपमा लाभ लिन सकिने बताए । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी बिस्तार गर्न सरकार अनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको बताए । उनले आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।
मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

























