काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले बजेट निर्माणमा सांसद् र मन्त्री नै नजोडिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले अहिलेको बजेट ल्याउने विधि श्राद्धमा बिरालो बाँधेको जस्तै भएको टिप्पणी गरेका छन् ।
उनले बजेट निर्माणको प्रक्रिया स्वीडेन र न्यूजिल्याण्डबाट सिक्नुपर्ने बताए । उनले भने,‘अहिले त न सरकार न संसद् बजेटसँग जोडिन सकेको छ । यसमा अर्थ मन्त्रालयका सिमित कर्मचारीको मात्रै संलग्नता भइरहेको छ ।’
थापाले भने,‘प्रधानमन्त्रीज्यूले कृषिमा जोड दिने कुरा उठाएको सुनेँ । के प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्री यो अवधिमा १ घण्टासँगै बसेर छलफल गर्नुभएको छ ? छैन ।’

























