काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासघंले काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले अनावश्यक खर्च कम गर्ने र पूँजिगत खर्चलाई बढाउनका लागि सरकारको कोसिस हुने बताए ।
मौद्रीक नीति मार्फत उच्च व्याजदरलाई नियन्त्रण गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने तयारी भइरहेको उनले बताए । उनले हजारौँ आयोजनाको ठेक्का लागिसकेको अवस्थामा अहिले सबैभन्दा ठूलो स्रोतको चुनौती रहेको धारणा राखेका छन् ।
बजेटमार्फत धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको भन्दै उनले स्रोत कम रहेको उल्लेख गरेका छन् । मन्त्री महतले नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको धारणा राखेका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन सुुझाव दिएका छन् । उनले अहिलेको अवस्थामा स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको धारणा राखेका छन् ।
























