काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् ।
ई. जीन कैरल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको आरोपमा ट्रम्पलाई दोषी ठहर गर्दै अदालतले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ । सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपूर्ति दिन आदेश दिएको हो ।
मानहानी गरेबापत ३० लाख र यौन दुर्व्यवहार गरेबापत २० लाख गरी ट्रम्पले कुल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने अदालतको ठहर छ । तर बलात्कार सम्वन्धी आरोपमा भने ट्रम्पलाई अदालतले सफाइ दिएको छ। डिपार्टमेन्ट स्टोरमा क्यारोललाई ट्रम्पले बलात्कार गरेको आरोपमा जिम्मेवार पाएन । मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो ।
म्यानहट्टन फेडरल कोर्टमा भएको सुनुवाइमा ट्रम्प भने उपस्थित थिएनन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले आरोप लगाउने महिलालाई आफूले चिन्न समेत नचिन्ने प्रतिक्रिया दिएका छन्। उनले आरोप लगाउने महिला आफूले नचिनेको र अदालतको फैसला अपमानजनक रहेको टिप्पणी गरेका छन् ।
ट्रम्पका प्रवक्ताले अदालतको फैसलापछि विज्ञप्ति जारी गर्दै उक्त फैसला ‘ट्रम्पविरुद्धको राजनीतिक अभियान’ भएको आरोप लगाएका छन् । फैसलाविरुद्ध पुनरावेदन गर्ने ट्रम्पको सचिवालयले जनाएको छ।
आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र वर्तमान राष्ट्रपति जोए बिडेनले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
























