काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा रहेको पुल छेउको जमिन फेरि भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जमिन भासिएपछि दुईतर्फी बाटो बन्द भएको मर्मत भइरहेको जनाउँदै वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
दुईतर्फी बाटो अवरुद्ध भएकाले हेटौँडा–काठमाडौँ, बालाजु बाइपास हुँदै नुवाकोटको बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
सोमबार धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको थियो । सडक मंगलबार एकतर्फ खुलाइएको थियो । तर आज पुनः त्यही ठाउँमा जमिन भासिएको बताइएको छ ।
नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।
अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

























