काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताएका हुन् ।
“नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ । प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो” प्रधानमन्त्रीले भने, “आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ। तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो। यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ।”
“कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर, ४ महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको वञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ। पर्यटक आउने क्रममा सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ। म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु। केही समयमा सकारात्मक नतिजा देखिन्छ” प्रधानमन्त्रीले भने ।
लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । उनले भने, “लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ । यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ । नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौं।”
भेटमा ६ वटा किसान संगठन आबद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गरेका थिए ।

























