काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् ।
शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए । उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताए । उनले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए ।
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए । उनले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाए । उनले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरुले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताए । उनले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हाबी हुँदै गएको बताए । उनले नेपालको इतिहास, संस्कृति, भुगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरु परिभाषित गर्ने दिशातिर सरकारले ध्यान दिन नसकेको बताए । प्रधानमन्त्री दाहालले अहिले पनि अधिकांशमा केन्द्रिकृत मानसिकता नै हाबी हुने गरेको बताए ।
प्रधानमन्त्री दाहालले सबैको सामुहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको बताए । उनले सामाजिक सेवामा देखापरेका झन्झटहरुमा पनि समाधानको प्रयास गरिरहेको बताए । उनले निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता पनि जनाए ।

























