काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दावी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताए ।
उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको बताए ।
पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाई थियो । पूर्वगभर्नर नेपालले व्यापार गर्नका लागि झन धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराए ।
पूर्वगभर्नर नेपालले नेपालमा नपढ्नेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यकता हुने तर्क समेत गरे । उनले माध्यमिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको बताए ।

























