काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले जितेका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।
वैद्यले ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे ।
त्यस्तै वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत प्राप्त गरे । तीन उपाध्यक्षमध्ये एशोसिएटतर्फको मतगणना भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु हुन सकेको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं वार्षिक साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान सम्पन्न भएको थियो ।

























