काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् ।
सीबीफीनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेको बताए ।
‘अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोवल खस्किएको छ। लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा मिडियाले पनि उठाइदिनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
उनले उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा दुईदेखि पाँच प्रतिशत कम हुनुपर्ने बताए ।
अहिले आयात बढेर विलासिता वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको उनको भनाइ थियो। तर ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने र अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धान्न अवस्था नभएकाले ब्याजदर घट्नु अनिवार्य रहेको उनले बताए ।
उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट रु दुई खर्ब लगानी भएको बताउँदै अब आर्थिक समृद्धिमा जोड दिन हाम्रो सम्भावनालाई ध्यान दिएर नीति–निर्माण गरिनुपर्नेमा जोड दिए ।
अध्यक्ष गोल्यानले अहिले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए । चाहिनेभन्दा बढी लगानी सिमेन्ट र डन्डीका क्षेत्रमा लगानी भएको बताउँदै अब अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
यसैगरी सीबीफीनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कमको मुद्दति बचतलाई निरुत्साहित गर्नुपर्ने बताए ।
‘ब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि एक वर्षभन्दा कम अवधिको मुद्दति बचतलाई निरुत्साहित गर्नु आवश्यक छ,’ उनले भने । – रासस

























