काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिस्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले आआफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार चन्द्र ढकाल आगामी अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिस्पर्धा हुने छ । यसबाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदै छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यही चैत २८ र २९ गते हुने महासंघको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले व्यवसायीहरुले धमाधम उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले सोमबार सार्वजनिक गरेको प्यानलमा जिल्ला तथा नगरमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्ष उम्मेदवार भरतराज आचार्य रहेका छन् ।
वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफ्नो समूह व्यवसायीको समस्या समाधान गर्न सक्षम रहेको बताउँदै विना शर्त व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने प्रतिवद्धता जनाएका छन् ।
हाल जिल्लातर्फकै उपाध्यक्ष रहेका दिनेशलाल श्रेष्ठले ३ दशकदेखि व्यवसायीको हकहितको लागि काम गरिएको बताउँदै व्यवसायीको हक हितको लागि आफूहरूको टिमले आवाज उठाउन सक्ने दावी गरेका छन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफूहरु अघि बढेको बताए ।
विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको उनको भनाइ छ । कोरोनापछि बैंकले गरेको लगानीको सही सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धराशायी बन्न पुगेको उनले बताएका छन् ।
वस्तुगततर्फका उम्मेदवार हेमराज ढकालले १४ कार्यसमिति सदस्यसहित उम्मेदवारी घोषणा गरेका छन् । उनले मौलिक वस्तुको उत्पादनमा ध्यान दिने बताएका छन् । ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तुगत संघहरुको समस्यालाई नजिकसँग बुझेको भन्दै वस्तुगत संघका समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै एसोसिएटतर्फका उम्मेदवार भरतराज आचार्यले सशक्त नेतृत्व दिन सक्ने दावी गर्दै महासंघमा रोजगार परामर्शदाता परिषद्मा थुप्रै काम गरेको बताएका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा सात वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षहरुको उपस्थिति थियो ।
सात वटै प्रदेश अध्यक्षको समर्थनमा श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रमममा प्रदेश अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको विकल्प नभएको र सबै प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश अध्यक्षहरुले अहिले महासंघको साख गिर्दो अवस्थामा रहेको र अबका दिनमा व्यवसायीका समस्या सरकारमाझ पु¥याउन पनि उमेशलाल जस्तो निडर र प्रस्ट वक्ता आवश्यक रहेको बताएका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मधेसका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमतीका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकीका अध्यक्ष अमृत भट्टचन, कर्णालीका अध्यक्ष पदमबहादुर शाहीको उपस्थिति थियो । विशेष कारणले लुम्बिनीका अध्यक्ष कृष्ण शर्मा र सुदूर पश्चिमका अध्यक्ष शंकर बोगटी भने उपस्थित हुन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो । तर उनीहरुको समर्थन पनि श्रेष्ठ समूहलाई नै रहेको बताइएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेको बताएका छन् ।
यसअघि आइतबार मात्रै संघाईले आफ्नो प्यानल सार्वजनिक गरेका थिए । त्यसअघि नै अन्जन श्रेष्ठले प्यानल घोषणा गरेका थिए ।
अञ्जन श्रेष्ठको प्यानलमा एसोसिएटतर्फ प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् ।
वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी संघाईको प्यानलमा वस्तुगत उपाध्यक्षमा हालका सुकुन्तलाल हिराचन, जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उम्मेदवार रहेका छन् ।