
जनकपुर । मिटरब्याज पीडितहरूको आन्दोलनमा मधेश प्रदेश सरकारले पनि ऐक्यबद्धता जनाएको छ। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै न्याय खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग हातेमालो गर्दै मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लड्ने प्रतिवद्धता जनाएका छन् ।
ठूलो वेदना बोकेर काठमाडौं पुगेका मिटरब्याज पीडितको हरेक पाइलामा मधेश सरकारको साथ रहने बताउँदै मुख्यमन्त्री यादवले पीडितको आँसुको हरेक थोपामा मधेश सरकारको सरोकार र दायित्व रहेको बताउँदै जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।
सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ। कानुन अभावमा हजारौँ सर्वसाधारणलाई ठगी गर्ने मिटरब्याजीहरूविरुद्ध कारबाही गर्न नसकिएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मधेश प्रदेश सरकारले केन्द्र सरकारको यो निर्णयको स्वागत गरेको छ।
मधेश प्रदेशमा सो समस्या विकराल भएपनि उक्त समस्या देशकै समस्या भएको वताउँदै मुख्यमन्त्री यादवले समाधानका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
विज्ञप्ति मार्फत उनले भनेका छन्, ‘गरिब झन् गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरूलाई आह्वान गर्दछु।’


























