काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ (अनलाइन स्वास्थ्य) सेवा सुरु हुने भएको छ ।
विदेशी भूमिमा श्रम गरिरहेकाहरुले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने उद्देश्यले सो सेवा सुरु गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिएका छन् ।
आज बिहान १०ः०० बजेदेखि सुरु हुने टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिन बाहेक नेपाली कार्यालय समयमा उपलव्ध गराइने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिएका छन् । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।
उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रवार विशेषज्ञ सेवा उपलब्ध गराइने बताइएको छ ।
प्रवक्ता पौडेलका अनुसार आइतबार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन सेवा उपलब्ध गराउन लागिएको हो ।
सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ भने यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने बताइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ ।


























