काठमाडौं । सत्ता साझेदार दलहरू मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । १० दलीय गठवन्धनमा सवैले धेरै संख्यामा मन्त्रालय खोज्नु र धेरै बजेट भएका मन्त्रालय रोज्दा समस्या देखिएको छ ।
मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टी नेतृत्व दवावमा छन् भने सत्ता साझेदारहरुले धेरै र आकर्षक मन्त्रालयमा दावी गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रालय भागवण्डा मिलाउन सकस भएको छ ।
प्रधानमन्त्री दाहालले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने दावी गरेका थिए । तर मंगलबार पनि मन्त्रालय विस्तार हुने सम्भावना टरेको छ । सत्ता साझेदार दलहरुको वैठक आज अपरान्ह बस्ने भएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वैठक बिहीबार ११ बजे बस्ने भएको छ । यसले गर्दा मन्त्रिपरिषद् विस्तारको सम्भावना विहीबारसम्मलाई धकेलिने देखिन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन मंगलबार अपराह्न ४ बजे बैठक बस्ने निर्णय गरेको थियो ।
बैठकबाटै मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने भनिएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत र मन्त्रिपरिषद विस्तारका लागि एक महिना विताइसकेका छन् । सत्तागठबन्धन आबद्ध दलहरुबीच भागबन्डामा कुरा नमिल्दा प्रचण्डले १६ वटा मन्त्रालयको भारी विसाउन सकेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सत्ता साझेदार दलहरूबीच सहमति हुन सकेको छैन ।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल आबद्ध छन् ।